काठमाडौँ । आर्थिक अनियमितता गरेको अरोपमा नेपाली सेनाका १ जर्नेल र १ कर्नेललाई सैनिक हिरासतमा राखिएको छ ।
सैनिक उच्च स्रोतका अनुसार सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नवीन सिलवाललाई छानबिनका लागि सैनिक हिरासतमा राखिएको हो ।
सहायक रथी राणा र महासेनानी सिलवाल दुवैलाई वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लागेको हो ।
उक्त आर्थिक अनियमितताको छानबिनका क्रममा कोर्ट अफ इन्क्वाइरी १२ जना अधिकृतसँग पनि बयान लिएको छ । १ जना सुवेदार मेजरलाई पनि थुनामा राखिएको छ ।
सेनाले शुक्रबार मात्र सैनिकले भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा आर्थिक अनियमितता गरेको ठहर भएपछि महासेनानि भूपालमान अधिकारीसहित ३ सैनिक अधिकृत र २ अन्यलाई कारबाही गरेको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७