भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।
नेपालको निर्णयलाई एकतर्फी कार्य भन्दै भारतले सो भौगोलिक दाबीलाई अस्वीकार गर्ने जनाएको हाे । बुधबार साँझ भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले सार्वजनिक गरेको नयाँ नक्सा भारतलाई मान्य नहुने बताएका हुन् ।
नेपालले बुधबार दिउँसो लिम्पियाधुरा समावेश गरेको नक्सा सार्वजनिक गरेको थियो । नेपालले नयाँ नक्सामा समावेश गरेका भूभाग ऐतिहासिक तथ्य र प्रमाणसँग मेल नखाने भारतको दाबी छ।
भारतले गत कात्तिकमा एकतर्फी रुपमा नेपाली भूमि लिपुलेक समेत समावेश गरी नयाँ नक्सा जारी गरेपछि सीमा मुद्दा पनि चर्किएको थियो।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७