बाँके । बाँकेको नरैनापुरमा एकैदिन ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (सिल) गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
सदरमुकाम नेपालगन्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ ।
संक्रमण न्यूनीकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनका अनुसार नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै संक्रमितको संख्या ६८ पुगेको छ । यसअघि नै नरैनापुरमा १ जनाको मृत्यु हुने गरी ९ जनामा संक्रमण देखिएको थियो ।
नरैनापुरमा सुरुमा फेला परेका ८ जनासँगको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, सोमबार संकलित ९३ सहित अझै १ सय १० जनाको स्वाब परीक्षणका क्रममा छ । यससँगै बाँकेमा कोरोना संक्रमितको सङ्ख्या सोमबारसम्म ९३ जनामा पुष्टि भएको छ ।
सोमबार अपराह्न ४७ र राति १० बजेपछि १२ जना गरी ५९ जनामा कोरोना संक्रमण देखिएको थियो । यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक गरी २५ जनामा संक्रमण देखिएको छ ।
बाँकेमा पहिलो पटक फेला परेका नेपालगन्जका २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा राखेर उपचार गरिए पनि त्यसपछि नरैनापुरमा फेला परेका ८ जनालाई दाङ आइसोलेसन अस्पतालमा पठाइएको छ ।
सोमबार पुष्टि भएका ५९ जनालाई नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकीमा आइसोलेसन सेवासहितको उपचार सेवा दिने तयारी भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७