इलाम । इलाममा गएराति १ युवतीले आफ्नै बुबाको हत्या गरेकी छिन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुस्मा राईले बुबा फूलबहादुर राईको हत्या गरेकी हुन् ।
शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फूलबहादुरको करिब २५ वर्षीया छोरी सुस्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए ।
उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घरमा जेठी छोरी सुस्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो । फूलबहादुरको टाउकोमा चोट देखिएको छ। टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ।
गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ , प्रहरी निरीक्षक शाहले भने ।
कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झगडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
छोरी सुस्मा बेलुकैबाट फरार रहेकाले खोजी जारी रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७