भक्तपुर । मध्यपुर थिमी नगरपालिकामा नगर प्रमुखको नियमविपरीत हुने कार्यका लागि दबाब बढ्न थालेपछि कार्यकारी अधिकृतले रातारात सरुवा लिएका छन् ।
नियम विपरीत भागबन्डाका आधारमा २० जना नगर प्रहरी भर्तीको विषयमा विवाद बढेपछि कार्यकारी अधिकृत विश्वराज मरासिनीले कोरोनाको महामारीकै बीच सरुवा लिएका हुन् । नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नियम विपरीत कार्यहरु गर्न दबाब दिने गरेका कारण मध्यपुरथिमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु धेरै समय टिक्न सक्दैनन् ।
कार्यकारी अधिकृतहरु जति समय नगरपालिकामा काम गर्छन् त्यो अवधिमा कि त नगर प्रमुख र कार्यकारीबीच टसल चलिरहन्छ, कि त कार्यकारीहरु सरुवाको सहारा लिन पुग्छन् ।
मध्यपुर थिमिमा १५ महिनाको अवधिमा ४ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीसँग हात हालाहालको स्थितिबाट सुरु भएको श्रेष्ठसँगको मनमुटावको शृंखला विश्वराज मरासिनीसम्म आइपुग्दा समेत रोकिएको छैन ।
नियम विपरीत गरिएको खर्च शीर्षकको अनुमोदन गर्ने, नगरपालिका र अस्पताललाई भर्ती केन्द्र बनाउने कार्यको विरोध गरेकै कारण अहिले नगर प्रमुख श्रेष्ठसँग कार्यकारी अधिकृत मरासिनीको बोलचाल समेत छैन ।
मध्यपुर थिमि नगरपालिकाले अहिले सो क्षेत्रमा १ जना कोरोना संक्रमित देखिएको भन्दै लकडाउनलाई कडाइ गर्न नगर स्वयंसेवकहरु परिचालन गरेको छ ।
नगर क्षेत्रभित्रको आवागमनलाई कडाइ गर्नका लागि परिचालन गरिएका ती स्वयंसेवकहरुलाई मेयर श्रेष्ठले नगर प्रहरीमा रुपान्तरण गर्ने प्रक्रिया अगाडि बढाएसँगै कार्यकारी मरासिनी र प्रमुख श्रेष्ठबीच टसल सुरु भएको हो ।
श्रेष्ठले २० जना नगर प्रहरी भागबण्डाका आधारमा नियुक्ति गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसको बाहुल्य रहेको नगरपालिकामा कांग्रेसको तर्फबाट १२ जना र मेयर श्रेष्ठले ८ जना पाउने गरी भागबण्डा मिलाएका छन् । तर, नियुक्तिका लागि कानुनी प्रक्रिया पूरा नगरेको भन्दै मरासिनीले प्रक्रियाबाट नियुक्ति गर्नुपर्ने बताएपछि मेयर रुष्ट बनेका हुन् ।
आवश्यकता सम्बन्धी सूचना नै प्रकाशन नगरी नियम विपरीत अहिले २० जनाको लिस्टिङ भइसकेको छ । सूचना प्रकाशन गरी दरखास्त आह्वान, निवेदन दर्ता र परीक्षाका न्यूनतम विधिहरु समेत पूरा नगरी नियुक्ति प्रक्रिया अगाडि बढाएपछि आफू फस्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत मरासिनीले रातारात सरुवा लिई मन्त्रालयमा हाजिर भएका छन् ।
उनले नियम विपरीत मेयर श्रेष्ठले गरेका नगर प्रहरी नियुक्तिमा साथ दिन नसक्ने भन्दै पन्छिएपछि विवाद बढेको हो । त्यही विवादका कारण कार्यकारी अधिकृत मरासिनी रातारात सरुवा भएका हुन् ।
अहिले मरासिनीको स्थानमा उद्धव रिजालले सोमबारबाटै जिम्मेवारी लिने गरी सरुवा भई आएका छन् । रिजाल यसअघि भक्तपुर नगरपालिकामा कार्यकारी अधिकृत थिए । मेयर श्रेष्ठकै रोजाइमा मध्यपुर नगरपालिकामा सरुवा भई आएका यसअघिका प्रमुख कार्यकारी अधिकृत महेश बरालले नगर कार्यपालिकाबाट पारित नगरी नगर प्रमुख एक्लैले स्वीकृति दिएको योजनाको नियम विपरीतको भुक्तानी दिन नमानेकै कारण नगर प्रमुखसँग कार्यकारी अधिकृत बरालको टसल भएको थियो । यही टसलका कारण ६ महिना पनि नबित्दै बरालले सरुवा लिएका थिए । आफू फस्ने काम नगर्ने भन्दै बराल गत कात्तिक ७ गते सरुवा भई गएका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७