काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले कोरोना महामारीका बेला पनि सरकार भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् ।
नीति तथा कार्यक्रममाथि सोमबारको छलफलमा भाग लिँदै कोइरालाले सरकार आम नागरिकको दुःखमा संवेदनशील नभएको र भ्रष्टाचारमा लिप्त रहेकाे बताएका हुन् ।
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताले भ्रष्टाचारमा सरकार लिप्त रहेको प्रष्ट भएको कोइरालाले बताए ।
उनले विदेशमा रहेका र समस्या भोगिरहेका नेपालीलाई स्वास्थ्य परीक्षण गरी घर फर्काउने व्यवस्था मिलाउन आग्रह गरे। ‘राहत वितरणमा अझ सक्रिय हुन आग्रह गर्दछु। राहत वितरणमा स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने, ‘महामारीसँग जुध्न सरकारको तयारी अपेक्षाकृतरुपमा परिणामुखी हुन सकेको छैन।’
उनले स्वास्थ्यकर्मीको सुरक्षा कवचको अभाव र विश्वसनिय किट पर्याप्त नहुनु दुःखद भएको बताए। ‘आवश्यक समाग्री तत्काल प्रबन्ध गरी परीक्षणको दायरा बढाउन आग्रह गर्दछु। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीका मनोवल बढाउन आग्रह गर्छु।’
हेर्नुहाेस् सम्बाेधनकाे पूर्ण पाठः
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७