काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा आवतजावत बन्द गरिएको छ ।
स्थानीय एक १८ वर्षीया युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्र बन्द गरिएको छ।
सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ १२ स्थित तेञ्जिङ चोक बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताए।
पिसिआर परीक्षण पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पिसिआर परीक्षण गर्ने बताइएको छ ।
युवतीको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गरिएको नगर प्रमुख खरेलले जानकारी दिए ।
उक्त क्षेत्रमा आगामी ३ दिन एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोकिने बताइएको छ। आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७