जनकपुर । धनुषामा हतियारसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट २ जनालाई हतियारसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियार फेला परेको बताए ।
प्रहरी नायब उपरीक्षक सापकोटाले पक्राउ पर्नेको साथबाट १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली ३ थान बरामद भएको बताए ।
पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७