काठमाडाैं । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भई घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ ।
मौसमविद् राजु प्रधानांगका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९.२ डिग्री र आज ३०.७ डिग्री सेल्सियस छ । अबको केही दिन तापक्रम निरन्तर वृद्धि भइरहने छ, उनले भने ।
कुनै मौसमी प्रणाली विकसित भएपछि मात्र तापक्रम घट्ने र तत्काल वर्षा हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पूर्वी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा छ । दिउँसो देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ ।
मंगलबार देशको पूर्वी भूभागमा र मध्य तथा पश्चिमी पहाडी भूभागमा मध्याह्नपछि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३९.४ डिग्री सेल्सियस छ ।
त्यस्तै दिपायलको ३६.५, धनगढीको ३७.५, वीरेन्द्रनगरको ३४.५, दाङको ३४.७, पोखराको ३१.०, सिमराको ३६.५ र धनकुटाको २५.६ डिग्री सेल्सियस अधिकतम तापक्रम छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७