नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको आइतबार मृत्यु भएको छ ।
गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए । उनका अनुसार युवकको मृत्यु कोरोनाकै कारण भएकाे अनुमान गरिएको छ ।
उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्युु भएको थियो। क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए। कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै संकलन गरिसकिएकाले आजै रिपोर्ट आउने उनको भनाइ छ ।
एकैदिन ८ संक्रमित भेटिएको नरैनापुरमा संक्रमितको सम्पर्कमा आएका २ सय ६३ जनाको शनिवार स्वाब संकलन गरिएको छ। पहिलो चरणमा संक्रमित ८ जनाको सम्पर्कमा आएका २ सय ८४ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्न नेपालगन्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २ सय ६३ जनाको संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएका र संक्रमितको सम्पर्कमा आएका २ सय ८४ जनाको स्वाब संकलन गरिँदै छ । यसक्रममा आवश्यकताका आधारमा थप आशङ्कितको पनि स्वाब संकलन गर्न सकिने छ ।
भारतबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। उनले भारतबाट आएका नागरिकबाट कोरोनाको जोखिम रहेकाले परीक्षण गर्नगराउन गाउँपालिकावासीलाई आग्रहसमेत गरे।
राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ।
गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगन्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना संकलन गरी भेरी अस्पताल, नेपालगन्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टाइनमा रहेका ६ सय ४१ नेपाली सबै भारतबाट आएका हुन्। पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन्।
भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको छ। नरैनापुरका संक्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइएको छ। बाँकेमा संक्रमित ३३ पुगेसँगै यहाँका अन्य स्थानीय तहले सतर्कता अपनाएका छन्।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७