कोरोना भाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २ सय २० जना नयाँ संक्रमित भेटिएका छन् ।
अघिल्लो दिन पनि ८५ हजार ३ सय १२ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३ सय १४ जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोना भाइरसबाट अत्यन्त जटिल छ भने २४ लाख २४ हजार अर्थात् करिब ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार १ सय ८६ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्त राज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७ सय ७२ जनाको मृत्यु भएको छ । जबकि अघिल्लो दिन यहाँ १ हजार ६ सय ३० जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कुल संख्या ८५ हजार १ सय ९७ पुगेको छ ।
कोरोना भाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १ सय ९५, स्पेनमा १ सय ८४ र फ्रान्समा ८३ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार १ सय ५८ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७ सय ५४ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७