कैलाली । कैलालीको जानकी गाउँपालिकाबाट ८ ग्राम लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरले ८ ग्राम लागुऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको हो । कैलालीको जानकी गाउँपालिका–८ भोक्सीबाट उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ पर्नेमा जानकी–६ सुवर्णपुरका ३० वर्षीय दीपक विक, जानकी–८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर–१ का २९ वर्षीय नेत्रबहादुर हमाल छन् ।
उनीहरुको साथबाट प्रहरीले से ४ प ५४४७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । टीकापुर प्रहरीले पक्राउ परेका तीनै जनालाई जिल्ला चलान गरेको छ ।
प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरको अवस्था हेरी कसुरदारलाई ५ देखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको जानकारी दिए ।
भट्टले पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपसार र सेवन नियन्त्रणमा कडाइ गरेको बताए । प्रहरीले बालबालिका तथा युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन विद्यालयस्तरमा र टोलटोलमा जनचेतना जगाउन जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ।
हामीले हजारौँ विद्यार्थीलाई लागुऔषध दुर्व्यसनबाट कसरी बच्ने भन्नेबारे जनचेतना फैलाएका छौँ , प्रहरी नायब उपरीक्षक भट्टले भने, हरेक बस्ती–बस्तीमा समेत कार्यक्रम गर्ने गरेका छौँ, दुर्व्यसनी न्यूनीकरणका लागि अभिभावकलाई सचेत बनाउने अभियान हो । रासस
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७