तस्बिरमा : काठमाडौं दक्षिणकालीस्थित खोकना आरोग्य आश्रम (कुष्ठरोग निवारण केन्द्र) परिसरमा शिखरापुर सामुदायिक सिकाइ केन्द्रले स्थापना गरेको दिगो वाटर स्टेसनमा हात धुँदै महिला । तस्बिर : आजको न्युज
काठमाडौं । शिखरापुर सामुदायिक सिकाइ केन्द्रले दक्षिणकाली नगरपालिकाका १३ स्थानमा हात धुने दिगो स्टेसन निर्माण गरेको छ ।
कोरोना भाइरस संक्रमण रोक्न वाइन टु वाटर नेपालको प्राविधिक सहयोगमा विशेष भिड हुने स्थानहरूमा वाटर स्टेसन निर्माण गरिएको हो ।
नगर कार्यपालिकाको कार्यालय, ९ वटा वडा कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, मनमोहनस्मृति सामुदायिक अस्पताल, खोकना आरोग्य आश्रम (कुष्ठरोग निवारण केन्द्र) समेत गरी १३ स्थानमा पानी–ट्यांकी, फलामको स्टेन्ड, स्रोतबाट पानी ल्याउने तथा फोहोर पानी जाने व्यवस्थासहितको वाटर स्टेसन बनाइएको सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर केसीले बताए ।
केन्द्रले दक्षिणकाली नगरप्रमुख मोहन बस्नेतलाई सबै स्टेसनका लागि ३ महिनालाई पुग्ने वातावरणमैत्री साबुन (रिसाइकल्ड सप) पनि उपलब्ध गराएको छ । यसअघि केन्द्रकै पहलमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका कार्यालय, स्वास्थ्य चौकी, वडा कार्यालयसहित ९ स्थानमा दिगो वाटर स्टेसन स्थापना गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७