इलाम । इलामको माईजोगमाई गाउँपालिका–३ शुक्रबारे बजारमा सोमबार साँझ भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
साँझ ९ः४५ बजे बेद कैयाको घरबाट सुरु भएको आगलागीबाट ३ घरमा पूर्णरूपमा क्षति पुगेको हो । नामसालिङ प्रहरी चौकी इन्चार्ज टेकराज गिरीका अनुसार कैयाको घरमा कोही पनि नभएको अवस्थामा आगलागी भएको थियो ।
घरमा रहेको २ मध्ये एउटा ग्यासको सिलिन्डर विस्फाेट भएको थियो। आगलागीबाट रुकमेणा प्रधानको घर र किराना पसल, छत्रकुमारी लावरको घर तथा कैयाको जुत्ता र कपडा पसलमा क्षति पुगेको छ ।
नामसालिङ प्रहरी चौकी, इलाका प्रहरी कार्यालय नयाँबजार र स्थानीयको सहयोगमा आगो बिहान करिब ५ः४५ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
दमकल नहुँदा पानी ओसारेर आगो नियन्त्रणमा लिनुपर्ने भएकाले समय लागेको इन्चार्ज टेकराज गिरीले जानकारी दिए ।
आगलागीबाट घर पूर्णरूपमा क्षति भएका पीडित परिवारलाई ५० हजार रुपैयाँ र लत्ता कपडा राहतस्वरुप प्रदान गरिने माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७