काठमाडौं । डेढ महिनाभन्दा बढी समय बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द भएको सेयर बजार मंगलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो ।
सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन बन्दाबन्दी घोषणा गरेसँगै सेयर बजार बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्जले मङ्गलबारदेखि सेयर बजार सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङगलबारदेखि सेयर बजार पुनः सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो ।
बोर्डमा शुक्रबार भएको सरोकारवालासँगको छलफलले दोस्रो बजार कारोवारलाई दैनिक २ घण्टा (बिहान ११ देखि १ बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७