लहान । टाउकाे काटिएकाे अवस्थामा मंगलबार बिहान सिरहाको लहान नगरपालिका–१७ मा १ पुरूषको शव फेला परेको छ ।
स्थानीय ४० वर्षीय मोहम्मद सरिफ मियाँको हत्या गरिएको अवस्थामा घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ ।
घरदेखि ५५ मिटरको दूरीमा रहेको उनकै बारीमा टाउको काटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरदकुमार क्षेत्रीले जानकारी दिए ।
हत्या गरिएको अवस्थामा फेला परेको मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको क्षेत्रीले जानकारी दिए ।
शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उनले बताए । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन ।
घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७