काठमाडाैं । आगामी ३ दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।
महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा पानी पर्ने सम्भावना छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले अहिले पनि उच्च वायुमण्डलको तापक्रम, हावाको गति दिशा, चाप, सापेक्षित आद्रताबारे जानकारी लिन बेलुन उडाइरहेको छ । रेडिएसन जडान गरेर उडाइने यो बेलुनले मौसम पुर्वानुमान गर्न सहज हुने मौसमविद्को भनाइ छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७