काठमाडाैं । पत्रकार, कवि तथा गजलकार सुविद गुरागाईंले आफ्नाे राष्ट्रप्रेमले भरिएकाे गजल कालापानी सार्वजनिक गरेका छन् । आइतबार गुरागाईंले युट्युबमार्फत गजलकाे लिरिकल भिडियाे सार्वजनिक गरेका हुन् ।
कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका नेपाली भूमिमा भारतीय हस्तक्षेप बढेपछि त्यसकाे विराेधस्वरूप लेखिएकाे गजलमा अग्रज गजल गायक वसन्त खड्काले स्वर दिएका छन् भने संगीत संयाेजन पनि खड्काले नै गरेका हुन् ।
गजलमा समेटिएका सीमा क्षेत्रका स्थानहरूमा गएर भिडियाे सुट गरेर म्युजिक भिडियाेसहित सार्वजनिक गर्ने तयारी भए पनि काेराेना संक्रमणका कारण लकडाउन लागू भएपछि हाललाई त्याे सम्भव नभएपछि लिरिकल भिडियाे राखेर सार्वजनिक गरिएकाे गुरागाईंले जनाए ।
हाल नेपाली भूभागमा भारतीय पक्षले सडक बनाएर उद्घाटनसमेत गरेपछि गजल सार्वजनिक गर्न ढिला गर्न नसकेकाे उनले बताए । कालापानी क्षेत्रमा जानमिल्ने ठाउँसम्म गएर सुटिङ गर्नुपर्छ । नेपाली सेनाको कलाकार टोलीसँग समन्वय गर्नुपर्छ भनेर प्रिय शुभेच्छुक/अनुज दीपक रोक्का, किरण क्रिएसन तथा कञ्चन इन्टरटेनमेन्टसम्बद्ध साथीहरूसँग छलफल हुँदै थियो , गुरागाईंले भने, योजना बन्दै थियो । अचानक लकडाउन भइगयो । लकडाउनकै बेला लिम्पियाधुरा, लिपुलेक, कालापानीको घाउ फेरि टन्किन थाल्यो ।
राम्रो भिडियो लकडाउन हटेपछि बनाएर सार्वजनिक गर्ने सल्लाह भएपछि लिरिकल भिडियाे राखेर गजल सार्वजनिक गरेकाे उनकाे भनाइ छ । यो राष्ट्र, राष्ट्रियताका पक्षमा सबैले आआफ्नो ठाउँबाट सकेको योगदान मिसाउनुपर्ने संवेदनशील समय हो , उनले भने ।
गुरागाईंकाे उक्त गजल किरण क्रियसनले अल ओभर द वर्ल्ड सार्वजनिक गरेकाे हाे ।
हेर्नुहाेस् भिडियाे ः
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७