काठमाडाैं । नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् ।
लन्डनको प्रहरीले उनको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ । बुधबार बिहान करिब १०:३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजी थालनी गरेको छ ।
प्रहरीले ६ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ ।
हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए ।
रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए ।
हालै उनलाई फिजीका लागि राजदूत नियुक्त गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७