काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७८ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ७८ जनाकाे मृत्यु भएकाे हाे । समितिका अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो ।
यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्डस, बहराइन र स्वीडेनमा १-१ जनाको कोरोनाका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।
कोरोना भाइरसका कारण यो साता थप ५ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बेलायतका २ तथा स्वीडेन, बहराइन र युएईका १-१ जना थपिएका छन् ।
संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । तीमध्ये २ हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भइसकेको समितिको अनुमान छ ।
सापकोटाका अनुसार विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार ९ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ । बाँकी २० देशमा रहेका नेपाली संक्रमित छन् ।
स्वास्थ्य समितिका अनुसार कतारमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार, बहराइनमा २ सय ४५, युएइमा १ सय ४९, नेपालमा १ सय ९, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६ जना नेपालीमा काेराेना देखिएकाे छ ।
आयरल्यान्डमा २२, स्पेन र अस्ट्रेलियामा १२–१२, जापान र क्यानडामा १०–१०, बेल्जियममा ६, स्विट्जरल्यान्डमा ५, जर्मनी र फिनल्यान्डमा ४-४, साइप्रस र न्युजिल्यान्डमा ३-३, माल्दिभ्स, माल्टा र हङकङमा २-२ तथा म्यानमा र फ्रान्समा १-१ गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।
यो साता फिनल्यान्ड र स्वीडेन (१ मृत्यु) मा नेपालीमा नयाँ संक्रमण देखिएको एनआरएन, कोडिभ –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७