चितवन । चितवनमा गाँजाका निहुँमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएकाे छ । घटनामा ३ प्रहरी घाइते भएका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडामा शुक्रबार राति प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो । त्यस क्रममा प्रहरीले १ राउन्ड हवाई फायर पनि गरेको छ।
प्रहरीका अनुसार राप्ती नगरपालिकाकै वडा नम्बर १२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा माथि उल्लिखित स्थानमा जम्मा भएका स्थानीय बासिन्दाले अवरोध गरेपछि झडप भएको हो।
झडपका क्रममा प्रहरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा १२ च २७१ र इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ नम्बरकाे गाडी तोडफोड भएपछि प्रहरीले हवाई फायर गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । दुवै गाडीमा क्षति पुगेको छ ।
झडपका क्रममा ३ प्रहरीसमेत घाइते भएका छन् । प्रहरी जवान अवधेशप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएका हुन् । यादवको अवस्था मध्यम भए पनि अन्य २ जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न स्थानीय २४ वर्षीय रञ्जित वाइबा, २० वर्षीय सुमन वाइबा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको छ । घटना शुक्रबार राति ९ः३० बजे भएको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७