कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न ३ जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका सञ्चार माध्यमहरुले बताएका छन् ।
ती चिकित्सकमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो ।
विगत २ साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ। रसियामा १ दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् ।
चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागिरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाइ छ ।
समाचारहरुमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये २ जनाले कार्यस्थलका विषयमा विमति राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो । रसियामा सयौंको संख्यामा चिकित्साकर्मीहरु नै कोरोना भाइरसबाट संक्रमित भएका छन्।
रसियाको राजधानी मस्कोबाट ५ सय किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका कारण ज्यान गएको थियो। कोरोना संक्रमित डा शुलेपोभको त्यही अस्पतालमा उपचार हुँदै थियो ।
पश्चिम साइबेरियाको क्रानोयास्र्क सहरमा अप्रिल २५ मा डा येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौं तलबाट खसेर ज्यान गयो । उनको मे १ तारिखका दिन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
त्यस्तै अप्रिल २४ मा मस्कोस्थित १ अस्पतालको झ्यालबाट खसेर डा नताल्या लेभेदेभाको मृत्यु भयो । अस्पतालले दुर्घटनाबस नताल्याको निधन भएको बताए पनि स्थानीय सञ्चार माध्यमहरुले डा नताल्यामाथि कोरोना भाइरससँग सम्बन्धित तनाब नै मुख्यरुपमा जिम्मेवार रहेका बताएका छन् ।
रसियामा १ लाख ६६ भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको र एक हजार ५३७ जनाको ज्यान गइसकेको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७