दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकाली नदी तरेर नेपाल प्रवेश गरेका छन् ।
४ महिनाअघि मजदुरी गर्न गएका उनीहरूले ट्युबबाट महाकाली नदी तरेका हुन् ।
भारतको डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका-३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका-५ का कृष्ण ओड जोखिमपूर्ण रूपमा नेपाल प्रवेश गरेका हुन् । ओड भने महाकालीमा पौडेर नेपाल आएका हुन् ।
लकडाउनका कारण काम बन्द भएपछि घर फर्किएको वीरेन्द्रले बताए । एक महिनादेखि काम बन्द भयो, उनले भने, नेपाल-भारत सीमाको झोलुंगे पुल खुलेको जानकारी नहुँदा ट्युब तरेर आएका हौँ। उनीहरू डिडिहाटबाट ३ दिन हिँडेर धार्चुला आएका थिए ।
उनीहरूलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ । ट्युबमार्फत महाकाली तरेवापत उनीहरूले जनही १ हजार ६ सय रुपैयाँ तिरेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७