प्युठान । लकडाउनकाे समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । प्युठान जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी १ सय १२ जनालाई मंगलबार घर पठाइएको हो ।
जिल्लाभरबाट १ सय ३७ जनालाई १५ दिनको क्वारेन्टाइन बसाइ पूरा गरी घर फिर्ता गर्नुपर्ने थियो । किटको अभावका कारण केही स्थानीय तहले क्वारेन्टाइनमै राख्ने र केही स्थानीय तहले थर्मल गनका भरमा घर फिर्ता गरेका हुन् ।
जिल्लाभरबाट १ सय १६ जना फिर्ता गरिएकामा ४ जनाको मात्रै आरडिटी गरिएको र १ सय १२ जनालाई थर्मल गनले तापक्रम परीक्षण गरी घर फिर्ता गराइएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका विपद् व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिए ।
सामान्य लक्षणहरु पनि नदेखिएका कारण सामान्य परीक्षणबाटै घर पठाइएका छौँ , श्रेष्ठले भने, एक हप्तासम्म परिवार, समुदाय, स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानी रहन्छ । उनका अनुसार होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने शर्तमा मञ्जुर भएपछि मात्रै क्वारेन्टाइनबाट पठाउने गरिएको छ ।
किट अभावमा थर्मल गनले स्वास्थ्य जाँच गरी स्वर्गद्वारी नगरपालिकाले ७७, गौमुखी गाउँपालिकाले १८ र सरुमारानी गाउँपालिकाले १७ जना घर पठाएका छन् ।
क्वारेन्टाइनमा १५ दिनको बसाइ पूरा गरेका २१ जना भने फर्किन पाएका छैनन् । प्युठान नगरपालिकामा रहेका ५, नौबिहनी गाउँपालिका २, माण्डवी गाउँपालिकाका १० र मल्लरानी गाउँपालिकामा ४ जनालाई १ हप्ताभित्र किट आउने आशामा क्वारेन्टाइनमै राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिए ।
जिल्लामा रहेका क्वारेन्टाइनमा मंगलबारसम्म ९ सय ९५ छन् । तीमध्ये बुधबार ४५ र बिहीबार १ सय ५३ जनाको १५ दिन पूरा हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०७७