काठमाडौँ । केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन् । तत्काल यी मौसमी प्रणाली हट्ने सम्भावना नरहेको उनले बताइन् ।
नेपालमा यी प्रणाली सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको हो ।
अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म ३ महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातर प्रभावित भइरहने हुन्छ ।
प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।
विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै १ साता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यस वर्ष काठमाडौँ उपत्यकामा अप्रिलमा औसतभन्दा बढी वर्षा भएको छ । अप्रिलमा सरदर ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा ९२ मिलिमिटर वर्षा भएको छ ।
आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यसको वर्षाको प्रकृति भिन्न छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन सुरु हुने गर्छ । यस वर्ष मनसुनको समयमा पनि सरदर वर्षा हुने मौसमविद्को अनुमान छ ।
राति देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा र पश्चिमी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
बुधबार देशभर बिहानीपख आंशिक बदली र दिउँसोपश्चात् सामान्य बदली रही देशको पहाडी भूभागका केही स्थानका साथै पूर्वी र मध्य तराईका १–२ स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
बिहीबार देशभर आंशिक बदली रही देशको पहाडी भूभागका केही स्थान र तराईका १-२ स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस छ ।
मंगलबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ३ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७