भारतको राजधानी दिल्लीमा रक्सी खरिद गर्ने व्यक्तिले अब विशेष कोरोना शुल्क पनि तिर्नुपर्ने भएको छ ।
सोमबार रक्सी खरिद गर्न गएका व्यक्तिहरुले व्यक्ति–व्यक्तिबीच कायम गरिनुपर्ने नियम उल्लंघन गरेपछि दिल्ली सरकारले विशेष कोरोना शुल्क भन्दै ७० प्रतिशत कर बढाएको छ।
भारतमा लकडाउनको कारण बन्द रहेको मदिरा पसल सोमबारदेखि खुलेपछि किन्नेको भीड लागेको छ ।
मुख्यमन्त्री केजरीवालले मदिराको अधिकतम मूल्यमा थप ७० प्रतिशत कोरोना कर भुक्तानी गर्नुपर्ने निर्णय गरेका हुन्। मदिरामा ७० प्रतिशतसम्म शुल्क वृद्धि भएपछि दिल्लीमा मदिरा सेवन निरूत्साहित हुने दिल्ली सरकारको आशा छ ।
कोरोना भाइरसको संक्रमण तथा रोकथामको लागि भारतमा गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको छ । लकडाउन गरे पनि कोरोना संक्रमित भने तीव्र गतिमा फैलिरहेका छन् ।
मंगलबारसम्म भारतमा ४६ हजार ४ सय ३७ मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ मानिसको मृत्यु भएको छ ।