काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन आग्रह गरेको छ ।
हाल सबै विद्यालयहरुको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउनु हुन , मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्माले जारी गरेको विद्यार्थी भर्ना तथा परीक्षा सम्बन्धी निर्देशनमा भनिएको छ, साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठन पाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउनेजस्ता कार्यहरु नगर्नु, नगराउनुहुन सूचित गरिन्छ ।
कतिपय विद्यालयले आफूखुसी भर्ना सुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।
त्यसैगरी एसइई र कक्षा ११ र १२ का परीक्षाहरु स्थगित गरेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थिति सुक्ष्म अध्ययन परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा सञ्चालन सम्बन्धनमा हालसम्म कुनै नयाँ निर्णय नभएको मन्त्रालयले जनाएको छ।
संस्थागत विद्यालयहरुले माध्यमिक तहसम्मको १ महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य प्रकारको शुल्क छुट दिने सरकारको निर्णय कार्यन्वयन गर्न अभिभावक तथा स्थानीय तहलाई जानकारी गराएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७