काठमाडौं । सांसद डा. सुरेन्द्र यादव अपहरणकाे मुद्दा दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद डा. यादवले दिएको अपहरण तथा शरीर बन्धक मुद्दाको जाहेरी सरकारी वकिल कार्यालय काठमाडौंले दर्ता गरेको हो ।
दर्ता नम्बर १०४७ रहेको अपहरण तथा शरीर बन्धक मुद्दामा नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान ‘तथा पूर्वआइजिपी सर्वेन्द्र खनालका विरुद्ध किटानी जाहेरी परेको छ ।
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गरेको भन्दै यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी लिन नमानेको विषयमा सरकारी वकिल कार्यालयमा उजुरी गरेका थिए । सरकारी वकिल कार्यालयले उजुरीको अध्ययन गरी दर्ता गर्ने बताएको थियो ।
सरकारी वकिल कार्यालयले अब काठमाडौं प्रहरी परिसरलाई जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाउन निर्देशन दिने छ। यादवको टोलीले मानव अधिकार आयोगमा समेत उजुरी दर्ता गराइसकेको छ ।
यसैबीच, अपहरणको आरोप लागेका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालले सांसद यादवलाई आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
सोमबार आयोगकाे कार्यालयमा पुगेर तीनै जनाले आफूहरुले सुरेन्द्र यादव अपहरण नगरेको र निर्दोष रहेको बताएका छन् ।
आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजिपी खनालले अपहरण गरेको भन्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७