उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् ।
किमको स्वास्थ्यबारे फैलिरहेको अनेक हल्लाकाबीच उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएको जनाएको छ ।
केसिएनएका अनुसार उनले एक रासायनिक मल बनाउने उद्योगको उद्घाटन गरेका हुन् ।
उनी सार्वजनिक हुँदा त्यहाँ उपस्थित मानिसले तालीले स्वागत गरेका थिए । केसिएनएका अनुसार नेता किम आफ्नी बहिनी किम यो जोङ र केही वरिष्ठ अधिकारीका साथ उपस्थित भएका थिए ।
शुक्रवार अघि किम सार्वजनिक रूपमा अन्तिमपटक अप्रिल ११ मा देखापरेका थिए । अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सुङ को जन्मदिनको वार्षिकोत्सव समारोहमा उपस्थित नभएपछि किमको स्वास्थ्यलाई लिएर विभिन्न अड्कल काटिँदै आएको थियो।
यस अवधिमा किमका कुनै पनि गतिविधिका तस्बिर प्रकाशित नभए पनि उनी नियमित गतिविधिहरूमा सक्रिय रहेको बताइएको छ ।
सार्वजनिक रुपमा नदेखिएका किम यो अवधिमा सिरिया, क्युवा र दक्षिण अफ्रिकाका नेताहरूलाई अभिवादन पठाउने र तटवर्ती सहर वोनसनमा पर्यटक सुविधाको संरचना निर्माणमा खटिएका मजदुरहरूलाई धन्यवाद व्यक्त गर्ने जस्ता काममा सक्रिय रहेको उक्त सञ्चारमाध्यमले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७