ताप्लेजुङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा भीषण आगलागी भएको छ । शुक्रबार राति बजारको १ खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर जलेर नष्ट हुँदा ११ पसलमा क्षति पुगेको छ।
फुङलिङ नगरपालिका वडा नं. ५ स्थित ट्याक्सी काउन्टर अर्थात् पुरानो बैँकलाइनमा राति साढे १० बजेबाट सुरु भएको आगोबाट देवी भट्टराईको घरमा सञ्चालनमा रहेको भट्टराई होटल एन्ड लजबाट आगलागी हुँदा छिमेकी नेत्र कार्की, खेम के.सी., खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा सञ्चालनमा रहेका होटल तथा लजहरू पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसै गरी सोही आगो फैलन गई नजिकै रहेका बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, विशाल काउन्टरको घुम्ती, सुपर साइनो काउन्टरको घुम्ती र बुद्धशान्ति काउन्टरको घुम्ती समेत जली पूर्णरुपमा नष्ट भएको छ।
यस्तै नेपाली काङ्ग्रेसको पार्टी कार्यालय पनि आगलागीले क्षति पुगेको छ । दमकलमा पूरा पानी नहुँदा आगो नियन्त्रणमा ढिलाइ भएको थियो।
घरमा रहेका ग्यास सिलिन्डरहरू पड्किएका कारण आगलागी नियन्त्रण गर्न निकै कठिन परेको स्थानीयको भनाइ छ। उक्त आगलागी के कसरी भयो खुल्न सकेको छैन ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा शनिबार बिहान पौने ५ बजे पूर्ण रुपमा आगाे नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७