काठमाडाैं । काठमाडौं जिल्ला अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल फेरि पक्राउ परेका छन् ।
अदालतमा २५ लाख ५० हजार धरौटी बुझाएर छुटेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने भएपछि अग्रवाललाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
अकुत सम्पत्ति आर्जन गरेको हकमा निजी क्षेत्रका लागि सम्पत्ति शुद्धीकरण विभाग र सरकारी कर्मचारीको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्छ ।
व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीले काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो ।
सरकारी वकिल कार्यालयले १ वर्ष ६ महिनासम्म कैद सजाय र १० लाख जरिवाना माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो ।
उनलाई कालोबजारी ऐनअन्तर्गत १ वर्षसम्म कैद र सार्वजनिक पदाधिकारी भएकाले अर्को ६ महिना सजाय थपको माग गरिएको थियो ।
अग्रवाल किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत पनि हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७