काठमाडौँ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट ग्रसित इरफानको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो ।
मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आइसियुमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्ला दिन अस्पतालमा उपचाररत इरफानको स्वास्थ्य झन खराब भएपछि मंगलबार आइसियुमा भर्ना गरिएको थियो ।
निर्देशक सुजित सरकारले अभिनेता इरफान खानको निधन भएको भन्दै दुख व्यक्त गरेका छन् ।
यही अप्रिल २५ मा आफ्नी आमाको निधन हुँदा समेत इरफान लकडाउन र आफ्नो स्वास्थ्यका कारण आमाको निधनपछि राजस्थान पुग्न सकेका थिएनन् ।
२०१७ देखि स्वास्थ्य समस्यामा रहेका इरफानले गत वर्ष ठिक भएर नयाँ फिल्म अंग्रेजी मिडियममा काम गरेका थिए । अंग्रेजी मिडियम रिलिज हुनासाथ कोरोनाको संक्रमण बढेपछि लकडाउन हुँदा फिल्मको रिलिज समेत रोकिएको थियो ।
इरफानले बलिउडबाहेक हलिउडमा पनि कैयौं फिल्ममा काम गरेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७