विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।
नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको एएफपीले जनाएको छ ।
अमेरिकामा संक्रमितको कुल संख्या १० लाख नाघे पनि विभिन्न राज्यमा मानिसहरु लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २४ हजारको हाराहारीमा पुगेको छ ।
युरोपेली मुलुकहरुमा समेत गएको २४ घण्टामा २ हजारको हाराहारीमा मात्र कोरोनाका बिरामीको मृत्यु भएको र संक्रमितको संख्यामा तुलनात्मक रुपमा कमी आएको देखिएको भन्दै लकडाउनमा केही खुकुलो पारिएको र कतिपय मुलुकमा विद्यालयहरु खोल्न थालिएको छ।
कोरोना भाइरससम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएको वर्ल्डाेमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २४ हजार ६ सय ३७ जना उपचारपछि घर फर्किएका छन् ।
अझै पनि ५६ हजार २ सय ९१ जनाको स्वास्थ्य अवस्था निकै नाजुक अवस्थामा छ । हाल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ८० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएकाे छ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ९ सय ७७ जना, स्पेनमा २३ हजार ५ सय २१ जना, फ्रान्समा २३ हजार २ सय ९३, बेलायतमा २१ हजार ९२ जना, बेल्जियममा ७ हजार २ सय ७ जना, जर्मनीमा ६ हजार १ सय २६ जना, नेदरल्यान्ड्समा ४ हजार ५ सय १८ जना, स्वीडेनमा २ हजार २ सय ७४ जना, स्विट्जरल्यान्डमा १ हजार ६ सय ६५ जना, आयरल्यान्डमा १ हजार १ सय २, पोर्चुगलमा ९ सय २८ जना तथा रसियामा ८६७ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ८ सय ६ जना, चीनमा ४ हजार ६ सय ३३ जना, ब्राजिलमा ४ हजार ६ सय ३ जना, टर्कीमा २ हजार ९ सय जना, क्यानाडामा २ हजार ७ सय ७ जना, मेक्सिकोमा १ हजार ४ सय ३४ जना, भारतमा ९ सय ३९, इन्डोनेसियामा ७ सय ६५ जना, इक्वेडरमा ६ सय ६३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७