काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मगंलबार केन्द्रीय सचिवालय बैठक बाेलाउने सहमति भएको छ।
कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार भएको दुवै समूहको बैठकमा मगंलबार नै केन्द्रीय सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
साेमबार काेटेश्वरमा भएको २ समूहबीचको छलफलपछि मंगलबार सचिवालय बैठक बोलाउने सहमति गरेकाे हाे । बैठकमा सहभागी एक नेताका अनुसार सचिवालय बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने छ ।
अब अविलम्ब स्थायी कमिटी बैठक बोलाउने र सबै विषय स्थायी कमिटीमा छलफल हुन्छ । भोलिको सचिवालयले स्थायी कमिटी बैठकको मिति तोक्ने छ, उनले भने ।
बैठकमा ओली समूहबाट नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी थिए भने नेपाल समूहबाट भीम रावल, भीम आचार्य, रघुजी पन्त र सुरेन्द्र पाण्डे सहभागी थिए ।
काेटेश्वरमा भएकाे छलफलअघि ओली र नेपालबीच बालुवाटारमा छलफल भएको थियो ।
यसैगरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच पनि खुमलटारमा भेटवार्ता भएकाे थियाे । उक्त छलफलमा पनि सचिवालय बैठक बाेलाउन दबाब दिने सहमति भएकाे बताइएकाे छ ।
सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएको लगायत विषयमा नेकपाभित्र तीव्र विवाद छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७