जनताका लागि नै राजनीति गरेको भनेर दुहाई दिने नेताहरु अहिले जनता लकडाउनका कारण भोकमरीमा पर्दै गर्दा आफू भने गुप्तबास भएका छन । काेराेनाबाट आफैँ मरिन्छ कि भन्ने डरले नेताहरु सबै घरभित्रै लुकेर बसेका छन् । विगत १ महिनादेखि देश लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने भरपर्दाे उपायका रुपमा यो विधि सर्वत्र अपनाइएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकार लकडाउन गर्दा पुग्छ भन्ने मनस्थितिमा छ । लकडाउन गरेपछि सर्वसाधारणले कस्तो अवस्था भोगेका छन् भन्नेतिर कसैको ध्यान पुगेको छैन । मानिस खान नपाएर भोकभोकै सयौं किलोमिटर पैदल यात्रामा निस्किए । तिनै निम्न वर्गको मत लिएर सत्तामा पुगेका नेताहरु भने घरघरमा लुकेर बसेका छन् ।
चुनावको समयमा जनताको भोटका लागि वर्षायामको च्याउ उम्रेझैँ उम्रिने र जतिखेर जनतालाई साथ सहयोगको आवश्यकता हुन्छ त्यतिखेर गधाको टाउकोबाट सिङ हराएझैँ हराउने नेता भनाउँदाहरु समाजका दुस्मन हुन् । यस्ता समाजका अगुवा भनाउँदाहरुलाई परेको बेला जनताले आफ्नो मताधिकारको प्रयोग गरी तिनीहरूको सही स्थान देखाउनुपर्छ । अन्यथा यस प्रकारका समाज विरोधी तत्वहरूले जनतालाई दुःख परेको बेला पीठ देखाउने छन् ।
धेरै नेताहरु आफ्नो ज्यान जोगाउन लुकेर बसेकाे भए पनि जनतालाई परेकाे यस संकटकाे घडीमा केही युवा नेता जनताका समस्यामा साथ दिइरहेका छन् । यस्तैमध्येका १ हुन्- भूपेन्द्रजंग शाही । शाहीले लकडाउनकाे मारमा परेका जनताकाे दुःख बुझ्ने काेसिस गरिरहेका छन् । आफ्नै निजी खर्चमा शाहीले खान नपाएर अप्ठ्यारोमा परेका सर्वसाधारण जनताको न्यूनतम आवश्यकता पूरा गर्ने खालका खाद्यान्न सामग्री लिएर कहिले भक्तपुर त कहिले थानकोटसम्म पुगिरहेका छन् ।
उनकाे गृहजिल्ला कालीकोट मात्र होइन कर्णाली प्रदेशबाट काठमाडौं आएर विभिन्न पेसा व्यवसाय गर्ने समग्र जनताको सम्पर्कमा पुगेर उनले राहत र उद्धारको काम जारी राखेका छन् । साथै आफ्नाे सम्पर्कमा आउने अन्य क्षेत्रका दिनदुःखीहरुप्रति पनि उनी उत्तिकै संवेदनशील भएर राहत वितरण गरिरहेकै छन् ।
ओली सरकारले दायित्व पूरा गरेन भन्दैमा नेपाली कांग्रेस पनि गैरजिम्मेवार बन्न नमिल्ने शाहीले बताए । जनतालाई समस्या पर्दा कांग्रेसका नेताहरु पनि चुप लागेर नबसी राहत वितरणका लागि बाहिर आउनुपर्ने उनकाे भनाइ छ । नेपाली कांग्रेस भनेको वैकल्पिक सरकार हो । नेताहरु मिडियामा देखिने तर फिल्डमा नआउने प्रवृत्ति बिल्कुलै गलत हो , उनले भने ।
लकडाउन गर्ने अनि सुतेर बस्ने सरकारको रबैयाको हामी चर्काे आलोचना गर्छाैं । नेपाली कांग्रेसका तर्फबाट संसदमा पुगेका नेताहरुसमेत घरबाट बाहिर ननिस्कनु गलत भएको उनकाे निष्कर्ष छ । सञ्चारमाध्यम र टेलिभिजनमा मात्र देखिने कतिपय नेताहरु कहिल्यै जनताको घाउमा मल्हमपट्टी लगाउनतिर अग्रसर भएनन् । यस्ता नेताबाट देश र जनताले के अपेक्षा गर्ने ? जनतालाई दुःख र संकटमा पर्दा कता हराए अरु नेता ? जनता संकटमा पर्दा घरभित्रै गुप्तबास बस्ने कि चहर्याइरहेको जनताको घाउमा मलमपट्टी लगाउने ? उनको प्रश्न छ ।
नेपाली कांग्रेसले आफ्नो उपस्थिति देखाउने बेला यही हाे भन्दै उनले दुःख र संकटका बेला काङ्ग्रेसका नेताहरुले जनतासम्म पुग्नुपर्ने बताए । वास्तवमा सरकारी राहत बाँड्ने नाममा स्थानीय सरकारका प्रतिनिधिहरु फाट्टफुट्ट देखिए पनि आफ्ना मतदाता मात्र खोजेर राहत बाँड्दा वास्तविक पीडित जनता भने राहत पाउनबाट बञ्चित भइरहेकाे उनले बताए ।
बाहिरी जिल्लाबाट काठमाडौं आएर पढ्ने विद्यार्थी र मजदुर अहिले सबैभन्दा बढी प्रताडित छन् । पहुँचवालाको सम्पर्कमा नभएका वा नसक्नेहरु भोकभोकै बस्नु परिरहेकाले नै सबैले यो अभियानमा लाग्नु आवश्यक रहेकाे बताउँछन् शाही ।
लकडाउन सुरु हुनुअघि कालिकाेटमा मास्क वितरण गरेका शाहीले लकडाउनकाे १ महिना बितिसक्दा पनि अझै धेरै पीडितले राहत पाउन नसकिरहेकाे भन्दै सबैलाई आफ्नो स्वास्थ्यको माया हुने बताए । मलाई पनि काेराेनाबाट बाँच्न मन छ । तर जनता समस्यामा पर्दा आफ्नो मात्र ज्यान जोगाउन लुकेर बस्न मन लागेन । जनतालाई समस्या परेका बेला लुकेर बस्ने नेता र राजनीति कहिले काम लाग्छ र ? , उनले भने, यस्तो बेला नेपाली कांग्रेसका नेताहरुलाई पीडित नागरिकको सम्पर्कमा आउन म आग्रह गर्दछु ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७