भक्तपुर । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुर जिल्लामा प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमण गरेर मात्र प्रवेश गराइएको छ ।
जिल्लाको मुख्य नाका साँगा र जडिबुटीमा सवारी साधनलाई स्यानिटाइज (निर्मलीकरण) गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले तीन सातादेखी निरन्तर रुपमा भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई निसंक्रमित गरेर मात्र प्रवेश गराइरहेको छ । रेडक्रस भक्तपुर शाखाले जिल्लाभित्रका उपशाखालाई दैनिक जिम्मेवारी प्रदान गरी गाडी स्यानिटाइज गरिरहेको छ ।
काठमाडौँबाट भक्तपुर प्रवेश गर्ने सवारी साधनलाई जडिबुटी र काभ्रेबाट भक्तपुर प्रवेश गने सवारी साधनलाई साँगामा निसंक्रमित गरी प्रवेश गराउने कार्य गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको नेतृत्वमा सयौं गाडी तथा मोटरसाइकल, एम्बुलेन्स, अत्यावश्यक वस्तु बोक्ने सवारी साधनलाई स्यानिटाइज गरिएको छ । उपशाखा सभाापति सोम शर्मा बजगाईको नेतृत्वमा भएको स्यानिटाइज गर्ने कार्यमा उपसभापति कल्पदीप खड्का, सचिव श्रीराम लामिछाने, कोषाध्यक्ष हरिशरण बास्तोला, विपद् व्यवस्थापनका संयोजक विजय लामिछाने, कार्यसमिति सदस्य दिवाकर मुनकर्मीसहितको टोलीले डिसइन्फेक्टेड औषधि छर्किएको हो ।
सोडियम हाइड्रोफ्लोराइट औषधिको प्रयोग गरी गाडीलाई निसंक्रमित गरिएको उपशाखाका सभापति बजगाईले जानकारी दिए । एक लिटर सोडियम फ्लोराइटमा १५ लिटर पानीको प्रयोग गरी निसंक्रमण गरिएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७