काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी इन्टरनेटकाे पहुँचमा छन वा छैनन् भन्ने एकिन डाटा विश्वविद्यालयसँग नभई हचुवाका भरमा त्रिवि प्राज्ञिक परिषदले अनलाइन पठनपाठन गर्ने निर्णय गर्नु औचित्यहीन भएकाे र समग्र विद्यार्थीकाे पक्षमा नरहेकाे नेविसंघका नेता भुवन भट्टले बताएका छन् ।
त्रिवि रजिस्ट्रार प्रा.डा. पेशल दाहालले शुक्रबार अनलाइन अध्ययन अध्यापन गर्न सकिने निर्णय भएकाे र निर्देशिकासमेत जारी गरिसकेकाले डिन कार्यालयसँग समन्वय गरी निर्णय कार्यान्वयन गर्न आंगिक क्याम्पस र त्रिवि अन्तर्गतका सम्पूर्ण क्यापसलाई सूचना दिएका थिए ।
काेराेना महामारीका कारण अहिले सिंगाे नेपाल लकडाउनमा छ । लकडाउनका कारण विभिन्न तह र विश्वविद्यालय अन्तर्गतका शैक्षिक गतिविधि, पठपाठनसमेत ठप भएकाले शिक्षा क्षेत्रमा यसकाे नकरात्मक असर परिराखेकाे छ । नेपालका ग्रामीण क्षेत्रमा अझै पनि इन्टरनेटमा विद्यार्थीकाे सुलभ पहुँच छैन । त्यसकारण समग्र विद्यार्थीकाे हितमा हुने गरी गहिराे अध्ययन गरेर औचित्य पुष्टि हुनेगरी समान शैक्षिक पहुँच स्थापित हुने वैकल्पिक व्यवस्था गर्न भट्टले माग गरे ।
प्रविधिकाे सदुपयाेग गर्नु राम्राे पक्ष भएकाे भन्दै भट्टले त्रिभुवन विश्वविद्यालयले कुनै अध्ययनबिना नै विद्यार्थीकाे पहुँचबाहिर रहने गरी अनलाइन अध्ययन अध्यापनकाे निर्णय गर्नु आपत्तिजनक रहेकाे बताए ।
अनलाइन पठनपाठनमा पाठ्यक्रमकाे प्रकृति पनि साेही अनुरुपको हुनुपर्छ र विद्यार्थीकाे पहुँचकाे सुनिश्चितता हुनुपर्छ , उनले भने, काेराेना संक्रमणका कारण मुलक लकडाउनमा रहेकाे बेला विद्यार्थीकाे समान र सुलभ पहुँच नहुने गरी अनलाइन कक्षा सञ्चालन गरिनु प्रभावकारी हुँदैन ।
नेपालकाे कुल जनसङ्ख्याको ६५ प्रतिशतमा मात्र इन्टरनेटकाे पहुँच पुगेको छ । त्यसभित्र पनि ३५ देखि ४० प्रतिशतकाे हाराहारीमा ब्राेडब्यान्ड प्रयोगकर्ता छन् भने ६० देखि ६५ प्रतिशतको हाराहारीमा माेबाइल डाटाले काम चलाइराखेको अवस्थामा अनलाइन पठनपाठन सम्भव देख्नु विश्वविद्यालयहरुकाे कमजाेरी भएकाे भट्टले बताए ।
पदाधिकारीहरुको घर सहरका चोकचोकमा छन् भन्दैमा हुम्लाको हिल्सा, दार्चुला, संखुवासभा, पाँचथरदेखि कालिकोटको दुर्गममा रहेका विद्यार्थीको घरमा उच्च प्रविधिको इन्टरनेट छ भन्ने सोच्नु कहाँसम्म को बुद्धिमत्तापूर्ण सोचाइ हो ? , उनले प्रश्न गरे ।
त्रिवि प्राज्ञिक परिषदकाे निर्णय आर्थिक भार बढाउने, आर्थिक चलखेल र अनियमितता गर्ने नियतका साथ आएकाे टिप्पणीसमेत नेता भट्टले गरे ।
अहिलेकाे विपतमा आर्थिक चलखेलमा नलागी त्रिवि लगायतका विश्वविद्यालयले विद्यार्थीकाे शैक्षिक शुल्क मिनाह गर्नेतर्फ ध्यान दिई निर्णय गर्नु उपयुक्त हुने उनकाे सुझाव छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७