विराटनगर । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान शनिबार (भोलि) सुरु हुने भएको छ ।
एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ ।
रमजान उर्दू क्यालेन्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर रमाउने प्रचलन छ ।
विराटनगर सरौचिया निवासी मोहम्मद अजादका अनुसार रमजान महिना हाम्रो लागि निकै महत्वपूर्ण हो र यो पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुनेगर्दछ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।
कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अजादको भनाइ छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् ।
नबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७