काठमाडाैं । सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको हाे ।
सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।
राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।
तर यसको पार्टीभित्र र बाहिर चौतर्फी विरोध भएपछि अन्ततः प्रधानमन्त्री पछि हटेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७