काठमाडौं । कतिपय सञ्चार गृहरूले श्रमजीवी पत्रकारलाई बेतलबी बिदा बस्न दबाब दिने र जागिर नै छाेड्न बाध्य पारेकाे समाचार आएकाे भन्दै प्रेस युनियन काठमाडाैं शाखाले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
शाखाका अध्यक्ष जगन्नाथ दुलालले शुक्रबार विज्ञप्ति जारी गर्दै वर्षौं काम गरेका पत्रकारलाई संकटको घडीमा जागिबाट निकाल्नु र बेतलबी बिदा बस्न भन्नु अमानवीय व्यवहार भएको बताका छन् ।
सञ्चारकर्मीका लागि सञ्चार गृह संकटको घडीमा अभिभावक बन्नुपर्ने हो । तर, विडम्बना केही सञ्चार गृहले यही संकटको मौका छोपेर श्रमजीवी पत्रकारलाई बेतलबी विदा बस्न दबाब दिने र कतिपयलाई जागिरबाटै विदा गर्ने व्यवहारसमेत हुनु निन्दनीय छ , विज्ञप्तिमा भनिएकाे छ, तत्काल त्यस्तो अमानवीय व्यवहार रोक्न प्रेस युनियन काठमाडौं शाखा सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदछ । अन्यथा श्रमजीवी पत्रकारहरुको हक, हित र व्यवसायिक सुरक्षाका लागि जस्तोसुकै कदम चाल्न पनि प्रेस युनियन काठमाडौं शाखा तयार रहेको छ ।
लामो समयदेखि नियमित पारिश्रमिक नदिएका सञ्चार गृहलाई श्रमजीवी पत्रकारहरुको बाँकी तलब तत्काल भुक्तान गर्न पनि युनियनले माग गरेकाे छ ।
संकटको घडीमा पनि रिपोर्टिङमा सक्रिय पत्रकारहरुलाई आफनो सुरक्षामा ध्यान दिन आग्रह गर्दै विज्ञप्तिमा भनिएकाे छ, लकडाउनका कारण सञ्चार गृहलाई परेको समस्याका बारेमा पनि हामी बेखबर छैनौं । तत्काल सञ्चार क्षेत्रलाई राहत र सञ्चारकर्मीका लागि विशेष राहत प्याकेजको घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछौं ।
हेर्नुहाेस् विज्ञप्तिः
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७