मुखुण्डो
मान्छेले सधैँभरि
मुखुण्डो नै लगाइरहेका हुन्छन्
मुखुण्डाहरू
अनेक आकारका छन्
अनेक रङका छन्
अनेक विशेषताका छन्
हरेक मान्छेसँग
एउटाभन्दा धेरै मुखुण्डाहरू छन्
हामी मान्छे चिनेको भन्छौँ
तर केवल मुखुण्डाहरू चिनेका हुन्छौँ
समय कस्तो आयो भने
एउटा अदृश्य भाइरसको डरले
अब मुखुुण्डाले फेरि अनुहारमा
अर्को मुखुण्डो लगाउनुपर्ने भयो
हातमा पञ्जा लगाउनुपर्ने भयो
मदारीले बाँदर नचाएजस्तो
कालो जादूमा मान्छेहरूलाई भुलाइरहने
मुखुण्डाहरूकै बीचमा दूरी बढाउनुपर्ने भयो
यति नजिकैबाट त चिन्न नसकिएको मान्छे
अब अर्को मुखुण्डो थपेर र पञ्जा लगाई
दूरीमा बसेर कसरी चिन्ने !
घरभित्र घरबन्दीमा बसेर
चूपचाप
मुखुण्डाहरू यस्तै सोचिरहेका होलान् अचेल !
कुमारी – जीवित देवी
मान्छे थिएँ सानी
चञ्चल र उत्सुक धेरै कुरामा
माया पनि गर्थें, इष्र्या पनि
उन्मुक्त हाँस्थेँ र झगडा गरेर रुन्थेँ पनि ।
म ठिकै थिएँ ।
एकदिन परम्पराले मलाई नयाँ खोल ओडायो
म त श्रद्धाले पूजिन र ढोगिन थालेँ
त्यसपछि ऐनामा उभिँदा मान्छे होइन भगवान देख्छु
जीवित देवी – गम्भीर र जिम्मेवार,
कुनै अनुभूति र हलचल बिनै
मान्छेको याचना र कामना सुनेर आशीर्वाद दिन्छु
म अहिले पनि ठिकै छु ।
कुनै दिन फेरि यही परम्पराले
मैले लगाएको खोल झिकेर लैजानेछ
म फेरि नीलो आकाशमुनि हुनेछु स्वतन्त्र
चराझैं उड्नेछु कल्पनालोकमा
साधारण मान्छे म त्यसबेला पनि ठिकै हुनेछु ।
शायद सोच्नेछु –
यी ठिकहरूको बीचमा
कुन चाहिँ हुनेछ सबैभन्दा ठिक !
मानिसलाई आशीर्वाद दिन कुनै शक्ति बाँकी नभएकी म सोच्नेछु
के मान्छे र भगवान एकै चोटि हुन सकिँदैन ?
कृतज्ञता
यी आँखाहरू
संसारका सबै सुन्दरताहरूलाई हेर्छन्
र रङहरूसँग रमाउँछन् ।
यी कानहरू
मन्त्रजस्ता अमर वाणीहरू सुन्छन्
र आवाजका लहरहरू छुँदै मान्छेका हृदयसम्म पुग्छन् ।
यी खुट्टाहरू
नथाकिकन हिँड्छन् उकालो ओरालो
र पुग्छन् मन्दिरमा, विद्यालयमा, काम गरेको ठाउँमा
त्योभन्दा पनि मज्जाको कुरा पुग्छन् तिमीसम्म ।
यो जिब्रो
थाहा पाउँछ विभिन्न स्वादहरू
र सबैभन्दा मीठो स्वादको परख गर्छ ।
अहो ! यी हातहरू
फोहोरहरू सफा गर्छन्
श्रम गर्छन्
बाजा बजाउँछन्
कविता लेख्छन्
र आपूmलाई मन परेको चित्र बनाउँछन् ।
सोचमग्न छु
यी सबै मसँग हुनुमा
के लगानी छ मेरो
मेरो के योगदान छ ?
सित्तैमा यस्तो अमूल्य उपहार दिने
यति उदार दातासँग
म कृतज्ञ छु ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७