काठमाडौँ । केन्द्रीय कारागार सुन्धाराका कैदीबन्दीको चेकजाँचमा संलग्न २ नर्सहरुलाई कोरोनाको आरडिटीमा पोजेटिभ नतिजा देखिएपछि सुन्धाराका कैदीबन्दी आतंकित भएका छन् ।
कोरोनाको प्रारम्भिक परीक्षणको रुपमा रहेको आरडिटीमा पोजेटिभ देखिएका ती २ नर्सहरुको पिसिआर परीक्षण भने नेगेटिभ नतिजा आएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिएका छन् ।
महानिर्देशक कणेलका अनुसार केन्द्रीय कारागारका कैदीबन्दीदेखि सबैको जाँच गर्दा उनीहरुमा पोजेटिभ देखिएको भए पनि केन्द्रीय प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको र उनीहरु यतिबेला स्वस्थ्य छन् । उनले भने, ‘यहाँ आरडिटीलाई नै अन्तिम जस्तो गरी नकारात्मक प्रचार गरिएको छ । तर उनीहरुमा कोरोना नेगेटिभ भएको रिपोर्ट आइसकेको छ ।
कैदीबन्दीको जाँचमा संलग्न रहेका नर्सहरुको पिसिआर नेगेटिभ भए पनि कारागारका कैदीबन्दी भने आफूहरुमा कोरोना सरेको आशंकामा आतंकित भएका छन् । केन्द्रीय कारागारमा सजाय काटिरहेका एक बन्दीले आफ्नो परिचय नखुलाउने सर्तमा आजको न्युजलाई गरेको टेलिफोन वार्तामा त्यहाँ रहेका कैदीबन्दीको अवस्था निकै नाजुक छ ।
उनका अनुसार केही दिनदेखि आफूहरुले फुटबल खेल्ने ग्राउन्डमा पर्दाले बारेर क्वारेन्टाइन जस्तो बनाएर केही बन्दीहरुलाई राखिएको भए पनि उनीहरुको अवस्थाबारे कसैले वास्ता गरेको छैन । कारागारमा ३ ब्लकका गरी ३ हजार २ सयको हाराहारीमा कैदीबन्दी छन् । जसमध्ये १ ब्लकमा १ हजार ९ सय, अर्को ब्लकमा ९ सय र महिलाहरुको ब्लकमा ४ सय जति कैदीबन्दी छन् ।
सरकारले कैदीहरुको निरन्तर स्वास्थ्य उपचारमा ध्यान दिइरहेको बताए पनि त्यहाँ गम्भीर नभईकन कसैलाई पनि उपचार गराउने गरिएको छैन । ती कैदीबन्दीका अनुसार गम्भीर बिरामी परे मात्रै स्वास्थ्य उपचार पाउने भएका कारण त्यहाँ कसलाई कोरोना छ, कसलाई छैन त्यसको केही एकिन हुने अवस्था छैन ।
सरकारले दूरी कायम गर्न बनाएका मापदण्डको त त्यहाँ कुनै औचित्य नै छैन । बन्दीहरु कोचाकोचको अवस्थामा त्यहाँ बस्न बाध्य छन् । पहिलो चेकमा पोजेटिभ देखिएकाहरुको नेगेटिभ देखाउने किटहरुले पहिले नेगेटिभ देखिएकाहरुको पछि पोजेटिभ पनि देखिन सक्ने आशंका उनीहरुले गरेका छन् ।
बाहिर माइकबाट साबुन पानीले हात धुन भन्ने गरिएको भए पनि भित्र आएर के भएको छ भनेर कसैले वास्ता नगरेको ती बन्दीले टेलिफोनमार्फत बताए । कारागार व्यवस्थापन विभागले सबैको ¥यापिड टेस्ट गरिएको भने पनि ती बन्दीले कैदीबन्दीको कसैको टेस्ट नगरिएको र त्यो माग गर्दा पछि गर्ने भनेर टार्ने गरिएको दुःखेसो गरे ।
उनले भने, ‘कहाँको टेस्ट गर्नु । सरकारले त हामीलाई यही घेराभित्र मार्न खोजिरहेको छ । न जाँच गरिएको छ न कुनै मापदण्ड फलो गरिएको छ । बस सुरक्षाकर्मी बढाएर बाहिरभित्र गर्ने कार्यमा मात्रै रोक लगाइएको छ ।’ उनका अनुसार न्यूनतम स्वास्थ्य उपचार पाउनु कैदीबन्दीको पनि मानवअधिकारको विषय भए पनि सरकारले सुनुवाइ गरेको छैन ।
सरकार मात्रै होइन, यसरी आधारभूत अधिकारको ग्यारेन्टीको माग गर्दै कैदीबन्दीहरुका तर्फबाट अदालतमा समेत रिट हालिएको छ । तर अदालतले पनि निर्णय दिनुको सट्टा म्याद दिने काम गरेको उनको गुनासो छ ।
आफूहरुले कानुन बमोजिम सजाय काटिरहेको भए पनि आधारभूत उपचार र मानवीय संवेदनाको ग्यारेन्टी आफूहरुले पनि पाउनुपर्नेमा सरकारले त्यसको कुनै ख्याल नगरेको ती कैदीले आरोप लगाएका छन् ।
कारागारभित्र कैयौं बन्दीहरु रुघाखोकी लगायत सामान्य बिरामी धेरै रहेको भए पनि जेल प्रशासनले कुनै वास्ता नगरेको ती कैदीले आरोप लगाएका छन् । उनका अनुसार बाहिर भित्र आवातजावतमा कडाइ गरिएको भए पनि नर्सहरु फेरिइरहने गरेका छन् । अनि सुरक्षाकर्मीहरु पनि परिवर्तन भइरहने गरेका छन् ।
कोरोना फैलिएको आशंकामा आफूहरु सन्त्रासपूर्ण अवस्थामा बाँचिरहेको उनको भनाइ छ । सरकराले आफूहरुलाई यहीँ मार्न चाहेको पनि ती कैदीले आरोप लगाएका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकोबारे यसअघि नै मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण गरिसकेको थियो ।
यता कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले भने कारागारमा आउजाउ बन्द गरिएकाले त्यस्तो आशंका गर्नुपर्ने कुनै कारण नरहेको बताए । भित्र बाहिर पूरै बन्द गरिएको मात्रै होइन, भेटघाट पनि अहिलेका लागि बन्द गरिसकिएको छ । त्यसैले बन्दीहरुले अनावश्यक अफवाह फैलाउन खोजेको महानिर्देशक कणेलले टिप्पणी गरे ।
आफू सबै जेलर र प्रहरी अधिकारीको नियमित सम्पर्कमा रहेको र त्यस्तो महामारी फैलिन नदिन सबै मापदण्ड पूरा गरिएको महानिर्देशक कणेलले जानकारी दिए । उनका अनुसार भित्र कोचाकोच भए पनि बाहिर दुनियाँसँगको सम्पर्क पूरै टुटाएका कारण कारागार भित्र कोरोना फैलिने कुनै सम्भावना छैन ।
नियमित स्वास्थ्य जाँच गर्नेदेखि सबै प्रक्रिया पूरा गरिएकाले अनावश्यक डराउनुपर्ने कुनै कारण नरहेको महानिर्देशक कणेलको भनाइ छ । कणेलले यस्तो दाबी गरे पनि कैदीबन्दीहरु भने आश्वस्त हुन सकिरहेका छैनन् । उनीहरुलाई आश्वस्त बनाउने दायित्व कारागार प्रशासनको भएकाले तत्काल यसबारे सरोकारवालाहरुले ध्यान दिनुपर्छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७