धादिङ । दक्षिणी धादिङको थाक्रे गाउँपालिका-३ बालुवाखर्कमा गएराति चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
निधन हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान तामाङ छन् । घरमा चट्याङ लागेपछि गम्भीर घाइते भएका ३ जनालाई काठमाडौंतर्फ अस्पताल लाँदै गर्दा २ जनाकाे बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
गम्भीर घाइते अर्का १ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
गाउँमा रहेको बिजुलीको ट्रान्सफर्मरमा चट्याङ परेपछि लेक मल्डुङ र बेँसीमल्डुङ तथा बालुवाखर्कको सबैको घरमा विद्युत्को हाइभोल्टेज आएको थियो ।
घरमा जता छोए पनि करेन्ट लाग्ने भएपछि मोबाइल चार्जबाट झिक्न लाग्दा र बत्ती निभाउन खोज्दा करेन्ट लागेको वडाअध्यक्ष अमित घलेले जानकारी दिए।
घाइते भएका ४ महिला र २ पुरुषको भुुमेस्थानस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
घटनास्थल पृथ्वीराजमार्गको महादेवबेँसीबाट ४ घण्टाको दूरीमा दक्षिणतर्फ छ । घटनास्थल क्षेत्रमा पानी परिरहेकाले कच्ची सडक निर्माण भए पनि सो क्षेत्रमा सवारी साधन लैजान नसकिने अवस्था छ । सो क्षेत्रमा हरेक वर्ष चट्याङ पर्ने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७