क्यानडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका १ बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी १६ जनाको हत्या गरेका छन् ।
प्रहरीका अनुसार कोरोनाका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र थिए । ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरे । कतिपय घरमा आगो समेत लगाइदिएका थिए ।
हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दुरीमा रहेको सानो ग्रामीण शहर पोर्टापिकमा भएकाे साे घटनामा मारिएकामध्ये एक जना प्रहरी अधिकृत पनि छन् ।
प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर सबैभन्दा बढी मानिसका शव भेटिएका थिए । घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो । क्यानडासहित यो ठाउँ पनि कोरोना महामारीका कारण लकडाउनमा छ ।
क्यानडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा संलग्न व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएको प्रहरीले जनाएको छ । प्रहरीले बन्धुकधारी ५१ वर्षीय ग्याब्रिएल वोर्टम्यान भएको बताएको छ ।
उनी पनि पोर्टापिककै अस्थायी बासिन्दा रहेका प्रहरीले जनाएको छ । उनले प्रहरीको पोशाक लगाउएर रोयल क्यानेडियन लेखिएको प्रहरी कारमा सवार थिए ।
यो हाम्रो प्रान्तको इतिहासमा भएको हिंसाको सबैभन्दा विभत्स घटना हो, नोभा स्कटियाका प्रमुख स्टिफन म्याकनीलले बताए । क्यानेडियन प्रहरीका प्रवक्ता डानियल ब्राइनले उक्त संदिग्धका अतिरिक्त १६ जनाको मृत्यु भएको पुष्टि गरे ।
साे घटनालगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले एउटा हस्तलिखित विज्ञप्ति प्रकाशन गरी एक देशको रूपमा, यस्ता क्षणमा हामी एक अर्कालाई सहयोग गर्न एकताबद्ध हुन्छौं,हामी सबै पीडित परिवारको साथमा छौं, उनीहरूलाई यो कठिन समयमा सहयोग गर्नेछौं लेखेका छन् ।
प्रहरी प्रमुख क्रिस लिथरले घटनाको मुख्य उद्देश्य अनुसन्धानको क्रममा रहेको बताए । उनले अहिलेसम्मको अनुसन्धानले घटनामा एक व्यक्ति मात्र संलग्न रहेको देखिएको बताए । साे घटनालगत्तै पुगेको प्रहरी र संदिग्ध व्यक्तिबीच गोली हानाहान भएको पनि लिथरले बताए ।
क्यानडामा सामूहिक गोलीकाण्डका घटना कमै हुने गरेका छन् । सन् १९८९ मा मोन्ट्रियलको इकोल पोलिटेक्निक कलेजमा बन्दुकधारी मार्क लेपिनले १४ जना महिलाको हत्या गरेपछि क्यानडाले आफ्नो बन्दुक नियन्त्रण कानुनमा संशोधन गरेको थियो ।
क्यानडामा अहिले दर्ता नभएका ह्यान्डगन (हाते बन्दुक) वा एकै पटक धेरै गोली हान्न सक्ने (आरपिडब्लु) स्वचालित हतियार राख्न अवैध बनाइएको छ । हतियार किन्नुअघि पर्याप्त प्रशिक्षण, व्यक्तिगत जोखिम मूल्यांकन, दुई जनाको सिफारिस, पति वा पत्नीलाई पूर्व जानकारी तथा फौजदारी रेकर्डको जाँच गरिन्छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७