विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको उद्गम थलो चीनकाे वुहानमा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या थपिएकाे छ ।
यसअघि फेला नपरेका र गणनामा छुटेकाहरुकाे विवरण अध्यावधिक गर्दै चीनले तथ्यांक सच्याएकाे हाे । वुहान सहरमा ज्यान गुमाउनेकाे संख्या १ हजार २ सय ९० थपिएपछि चीनमा मृत्यु हुनेको कुल संख्या ४ हजार ६ सय ३२ पुगेको छ ।
चीनका अधिकारीले थप भएको संख्या नयाँ मृत्यु भएका व्यक्तिको नभएको र यसबाट आत्तिनुपर्ने अवस्था नरहेको जनाएका छन् ।
महामारीको सुरुमा वुहानका केही अस्पतालमा बिरामीको अत्यधिक चाप भएको र ती अस्पतालहरुले सुरुमा ज्यान गुमाउनेको संख्या गलत टिपाएकाले अहिले पुनः संख्या संशोधन गरिएको चीनको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यस्तै कुल संक्रमितको संख्या पनि वुहान ३ सय २५ जना थपिएका छन् । योसँगै वुहानमा संक्रमितको संख्या ५० हजार ३ सय ३३ पुगेको छ ।
यससँगै चीनका जम्मा संक्रमितकाे संख्या ८२ हजार ६ सय ९२ पुगेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७