म कस्तो कविता लेखुँ ?
जनताबाट जनता थुतेर जनतालाई नै
लखेटिरहेका बेला,
सिंहदरबारदेखि देशका कुनाकुना, काप्चा काप्चासम्म
घिनलाग्दो भाइरसले छपक्कै छोपिरहेको बेला,
भन्नुस् न ,
म कस्तो कविता लेखुँ ? कसको कविता लेखुँ ?
शब्दहरुलाई आफ्नै बरखी बार्न
म कसरी जन्माउँ आत्मघाती कविता ?
र कसरि बालुँ सत्यताको आगो
आफ्नै स्वाभिमानको चिता जलाउन ।
भन्नुस् न,
यस्तो अलच्छिना समयमा
म कस्तो कविता लेखुँ ? कसको कविता लेखुँ ?
न्यायको मन्दिरमा मानव बलि चडाएर
पूजा भइरहेको बेला
गाउँ अरबमा मरिरहेको बेला
भ्रष्ट पुजारीहरु खरबमा ताण्डब नाच नाचिरहेको बेला
भगवान त् आँखा छोपेर कपिरहेका छन्
अनि यस्तो बेलामा
भन्नुस् न,
म कस्तो कविता लेखुँ ? कसको कविता लेखुँ ?
यो उज्यालो नजन्मिएको,
अँध्यारो नसकिएको प्रेत प्रहरमा
मान्छे मान्छेबाट गायब भइरहेको बेला
इमान्दारिता, असलताको व्यापक लुट भइरहेको अँध्यारो कुबेला
मृत्यु त पूरै कन्फ्युज भइरहेको बेला,
कविकै कलम हत्या हुने यस्तो अपराधी समयमा
भन्नुस् न,
म कस्तो कविता लेखुँ ? कसको कविता लेखुँ ?
जीवन सपनाहरुको बोरा
जीवन भरि भरि देखिने
रित्तो सपनाहरुको बोरा हो क्यारे
सपनाहरु घोप्टयाइदियो भने जीवनबाट
रित्तो च्यातिएको चामलको बोरा झैँ
जीवनले आफैँलाई उछिट्याएर जिस्काउला भन्ने डर
सपनाहरु भरेर राखौँ भने गजधम्म भान्साको कुनामा
अडेस लागेर बसेको भरि चामलको बोरा जस्तै
दिनमा तिन चोटि भात खाए झैँ आफ्नै सपनाहरु
बुकाएर ढाडिएला भन्ने डर
तर सपनाहरु चाहिन्छन् जीवन दौडाउन
चामलले त केवल जीवन उभ्याउने मात्र हो क्यारे
उपनामको यात्रा
भाग्यबहादुरको उपनामको यात्रा
५ क्लासबाटै न्वारान हुन्छ
बालकमा हिरो सुपरहिरो र कोमल फूलहरुको नामको फुर्को झुन्डाएर
कम्ता दौडेन उ,
केतुकीको पातमा, बाँसको रुखमा
ढुंगाहरुमा
सकी नसकी कोतर्यो उपनाम ।
कोकाकोला को बोतलमा घुसारिएको डुब्लिकेट फुलको
बिचमा उभिएर खिचाएका
आफ्ना तस्बिर हेर्न महिनौ कुर्थ्यो ।
नयाँ उपनामको कल्पनामा
अलि हलक्क बढेपछि
पत्रमित्रताका चिठीहरुमा
मायालुको अनुसन्धान
गर्दा फेरि बदल्यो उपनाम
रोमियोलाई जित्ने राख्यो
उपनाम रोमियो सागर
कतै
केही हात नलागेपछि
फेरि उ अनुरोध संगीतमा उपमानको
बिगबिगी चलायो
र एक्कासी उसले प्रचण्ड र लाल धोज नाम सुन्यो
र क्रान्तिकारी आँधीबेहेरीमा
उसले पनि राख्यो डरलाग्दो उपनाम "एम्बुस "
र क्रान्ति सहर पसेर लिँडे भएपछि
फुस भयो उसको उपनाम
फेरि फ्रस्टेड उपनाम राख्यो बैरागी
चुनव लाग्यो फेरि
भाषण दिनुपर्दा उपनामको माया लाग्यो
र हल्का क्रान्तिकारी नाम जोड्यो
उल्का
चुनावपछि नेता बेपत्ता भएपछि
उसले फेरि डिप्रेस उपनाम
परिवर्तन गर्यो "बेरोजगार"
र यही उपनाम बेरेर मलेसिया गयो
घरमा श्रीमती अन्तै हिँडेपछि
फर्किँदा ठूलो टिभीसँगै उसले
फेरि उपनाम राख्यो "अभागी "
र अहिले उ भाग्यबहादुर अभागी" नामले
कविता लेख्छ ।
(भण्डारी मुलत अंग्रेजी साहित्यमा कलम चलाउँछन् अंग्रेजी कविता संग्रह कन्सियन्स कवान्टमका सर्जक हुन् ।)
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७