वैशाख । भारतमा लकडाउनको अवधि आगामी मे ३ अर्थात् वैशाख २१ गतेसम्मका लागि थपिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनदेखि जारी लकडाउनको समय मे ३ (वैशाख २१) सम्म थप्ने घोषणा गरेका हुन् ।
यसअघि देशमा जारी लकडाउन थप्नेबारेमा प्रधानमन्त्री मोदीले देशका कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गरेका थिए । मुख्यमन्त्रीहरुले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए ।
देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए । उनले आगामी १ साता लकडाउनलाई कडाइका साथ लागू गरिने पनि बताए ।
भारतमा मंगलबार बिहानसम्म १० हजार ३ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने ३ सय ५८ जनाको मृत्यु भइसकेको छ । भारतले सुरुमै २१ दिनको लकडाउन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७