काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार नयाँ वर्षकाे बिहान राष्ट्रगान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसको संक्रमण र रोकथाममा सक्रिय चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएका सबैको सम्मानमा यस्तो गर्न आह्वान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा सर्मथन गर्दै प्रधानमन्त्रीले भोलि बिहान ८ बजे जो जहाँ छ, त्यही ठाउँबाट ताली बजाउन भनेका हुन् ।
ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन बिहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ ।
‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔ !’, ट्विटरमार्फत ओलीले भनेका छन्, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६