काठमाडाैं । छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर ३ जनाकाे मृत्यु भएकाे छ । संखुवासभाको पाँचखपनमा चट्याङ लागेर १ जनाको ज्यान गएको हाे ।
पाँचखपन नगरपालिका–२ की ५२ वर्षीया डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए ।
शनिबार राति ७ः३० बजे राई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको पाँचखपनका नगरप्रमुख विपीन राईले जानकारी दिए ।
यसैगरी खोटाङको केपिलासगढी वडा नम्बर १ फेदीको अति दुर्गम गाँउ तोमानेमा २ जनाको चट्याङका कारण ज्यान गएको छ ।
चट्याङका कारण ३८ वर्षीया निर्मला विक र १५ वर्षीय राजमणि राईको मृत्यु भएको खोटाङका संघीय सांसद विशाल भट्टराईले जनाएका छन् ।
चट्याङकै कारण मृत्यु भएकी निर्मलाकै छोरा आसन र छोरी मनकला गम्भीर अवस्थामा रहेको बताइएको छ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको प्रहरीचौकी खार्ताम्छाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६