काठमाडौं । नेपाल राष्ट्रिय मारवाडी परिषद्ले सुलभ अग्रवालको नाममा समग्र मारवाडी समुदायकै गरिमामा आँच पुग्ने गरी सामाजिक सञ्जालमा चर्चा गरिएको भन्दै त्यसरी लेख्नेको पहिचान गरी कारबाही गर्न माग गर्दै उजुरी दिएको छ ।
शुक्रबार परिषद्ले साइबर क्राइम ब्युरो र गृह मन्त्रालयलाई पत्र लेख्दै एउटा व्यक्तिको विषयमा मारवाडी समुदायकै चरित्र हत्या हुने गरी अश्लील गालीगलौज र जातीय आक्षेप लगाएर सामाजिक सञ्जालमा जथाभावी लेखिएको भन्दै कारबाही गर्न माग गरेको हो ।
‘मारवाडी समाजले राष्ट्र र जनताका लागि हरहमेसा जिम्मेवार र कर्तव्यबोध भूमिका निर्वाह गर्दै आइरहेको छ’, पत्रमा लेखिएको छ, ‘कोही व्यक्ति अपराध वा कानुनको कठघरामा उभिएको छ भने व्यक्ति विशेषलाई लिएर सम्पूर्ण मारवाडी समाजलाई दोषी देख्नु कति न्यायोचित छ ?’
यसैगरि अगाडि लेखिएको छ, ‘यस किसिमका अश्लील र जातीय आक्षेप लगाउने जोसुकैलाई पहिचान गरी नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गरिपाउँ ।’
जगदम्बा कम्पनीमा सञ्चालक सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गदै गर्दा पक्राउ परेका थिए । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा मारवाडी समुदायकै व्यक्ति कालोबजारीमा लागेको भन्दै विभिन्न प्रतिक्रियाहरू आएका थिए ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६